केहि दिन अघि देखि यो लेख्न खोज्दै छु, दिमागमा प्रश्न खेलिरहेको छ तर लेखेका कुराहरुमा केहि मनलाई चित्त बुझ्दो आएन । उपन्यास लेखिएला त भनिहाले यस्तो छ हालत…. आज फेरी लेख्न बसें फेरी सोच्दै छु, किन एउटा व्यक्तिलाई कसैको याद आउँछ ?
के हामी याद बिना बाँच्न सक्छौँ ?
के यही यादहरु समाल्नका लागी हाम्रो मस्तिस्क छ?
र के त्यो नै हाम्रो दिमागको सबै भन्दा महत्त्वपूर्ण प्रयोजन हो ? मलाई थाहा छैन ।
लाग्थ्यो भोगेका कुराहरु फेरी मस्तिष्कमा आउनुलाई याद आउनु भनिन्छ तर बार बार मेरो मगज मलाई मैले नभोगेका र मेरो जिवनमा नभएको कुराहरु पनि याद दिलाउँछ । अझ भनुम् ति यादहरुमा रमाउने मौका दिन्छ । समय खर्च गर्ने अर्को बाटो थपिदिन्छ ।
वाह !! अहिले लेख्दा लेख्दै चक्षु खुल्यो !
के यि याद होईनन् चाहना हुन् ?
यि याद होईनन् चाहना हुन् ।
वाह ! चाहना बाट सिर्जना भएका कल्पना हुन् जुन यो मस्तिष्कमा बार बार आउँछन् र बास जमाउँछन् । यो कल्पना कहिले बुनियो यो त मलाई थाहा छैन तर लाग्छ सबै भन्दा अगाडी बुनिएको कल्पनालाई नै मस्तिष्क बार बार याद गरिरहन्छ । र हरेक यादमा नयाँ नयाँ बुंधाहरु जोडिन्छन् जस्तै जोडिन्छन् उमेर सँगसँगै जिवनमा अनुभवका नयाँ बुंधाहरु । त्यस माथि पनि एक व्यक्तिको याद आउनु जस्को हुनुको त केहि फन्को छैन तर कसो कसो आशा छ माया प्रेमको, अनन्त साथको, ख्यल ठट्टाको, उहि “सिग्निफिकेन्ट अदर” (Significant other) को । यो याद जसले मनमा खुल्दुली मच्याउँछ, मुहारमा मुस्कन लेराउँछ, कुनै पनि मौसमलाई चन्चल बनाउछ, यि यादहरुमा कतिको सत्य हुने सम्भावना छ त्यो कस्ले जानु मन-मस्तिष्क त कल्पनामै रमाउँछ ।
लौ ! व्याख्यात्मक टिप्पणी गर्ने साहस गरेको यो पनि कल्पनाकै खेलामा गएर अड्किन पुगेछ तर कल्पनलाई डोराउने चाहना हुन् र लाग्छ तेही इच्छा-आकांक्षा कै जगमा यादहरुको महल अडेको छ ।
अब चाहना के को राख्ने नराख्ने ? र के चाहना पुरै एक व्यक्तिको नियन्त्रणमा हुन्छ ? यो लाग्छ आफै मनन गर्ने कुराहरु हुन् । तर परिरहेको झरीमा अज्ञात सिग्निफिकेन्ट अदरको याद आउनु चाहनाको खेल नहोला म भन्न सक्दिन । पानी परेको बेला लाग्छ यो पुरै वातावरण नै रमान्चित हुन्छ यो मन किन पछी सर्थ्यो ? त्यसमाथि झरी हेर्दै, तातो तातो चिया पिउँदै, आफ्नो मन मिल्ने साथीसँग बात मार्न पाउनु त आहा ! स्वर्ग पुगेको भन्दा कम होइन ।
यो लेख खै के भयो तर लाग्छ यो मेरो धेरै वर्ष देखी अनुभव गर्न नपाएको नेपालको मनसुनलाई सम्झनाको पत्र भयो ।
ख्यल -ठट्टामा मेरो प्रिय पाठक बन्छु भन्नु भएको पाठकलाई मेरो धन्यवाद । कता-कता केहि मूर्त निर्माण गर्न प्रोत्साहान मिल्यो नत्र कहिलेकाहीँ यसता रमाइला चिन्तन पनि सोच मात्र भएर बिलाउँछन ।