कस्तो कस्तो यो जिन्दगी
आफ्नै बाटोमा हिड्दा हिड्दै हराएको जस्तो
पूर्ण संवाद पनि अपुरो जस्तो
हाँस्दा हाँस्दै आँसु झर्ने जस्तो
बुझ्दा बुझ्दै नबुझिने जस्तो
मिल्दा मिल्दै साथ छाडिने जस्तो
सङ्गाल्दा सङ्गाल्दै चेट भएको चङ्गा जस्तो
इच्छा र आशाले तानि रहेको जस्तो
विकल्पहरूको सीमानामा उभिएको जस्तो
छिन्-छिन्मा बद्लिने मौसम जस्तो ।
अनिश्चितता छ त, बाँचिरएको जस्तो
अन्योल मै अर्थ लुकेको जस्तो
(के अरु केहि औचित्य छ ?)
मुस्कुराउँदै हिडी रहुँ जस्तो
मुस्कुराउँदै हिडी रहुँ जस्तो
कस्तो कस्तो यो जिन्दगी…
यो टाईप गर्दा गर्दै मलाई शंकर लामिछानेको निबन्ध ‘देउताको काम’ को अन्तिमका केहि सोच (वाक्यहरु) याद आए। –
“यो सब भएन र पो !
यो सब गरिन (वा गर्न सकिन !) र पो ।
आज, वहियात कुराले पनि छुन्छ । अरुलाई गरिएको, अरुले जवफ दिएको प्रश्नोत्तरले पनि छुन्छ । र …।
यसरी छोइने भएर नै आशा लाग्छ, स्पन्दन छ कता कता कता ! … कता कता केही धुकधुकी बाँकी छ सायद यही छ ‘देउताको काम’ हो कि म भित्र शेष रहन गएको ? जीवनप्रतिको सच्चा चाहनाको यो ढुकढुकी …। यसको जवाब भविष्यले सायद भन्ला …। “
शंकर लामिछाने. 1967. एब्स्ट्रयाक्ट चिन्तन्: प्यज, देउताको काम
Leave a comment